एन्साबले ‘साइटेस कानुन अभिमुखीकरण’ कार्यशालामा प्रस्तुति दियो
२० अप्रिल २०२२
एन्साबका कार्यक्रम निर्देशक श्री पुष्प एल. घिमिरेले २०२२ अप्रिल १९ मा वन तथा भू–संरक्षण विभागले आयोजना गरेको साइटेस अभिमुखीकरण कार्यशालामा “साइटेस सूचीकृत प्रजातिको अन्तर्राष्ट्रिय व्यापारमा चुनौती – नेपालको जटामसीको अध्ययन” शीर्षकमा प्रस्तुति दिनुभयो। कार्यशाला नेपालको बागमती प्रदेशका डिभिजनल वन अधिकृतलाई साइटेस कानुन, हालका चुनौती र साइटेस सूचीकृत व्यावसायिक रूपमा महत्त्वपूर्ण गैरकाष्ठ वन पैदावार/औषधीय तथा सुगन्धित वनस्पति प्रजातिको संरक्षण र व्यापारमा पर्ने प्रभावबारे जानकारी दिन आयोजना गरिएको थियो।
प्रस्तुति i) हालको सन्दर्भ, विशेष गरी परिमाणात्मक अध्ययनको अभावमा जटामसीको दिगोपना, ii) साइटेस कार्यान्वयनका लागि देशमा सरकारका गतिविधि र प्रयास तथा साइटेस सूचीकृत प्रजातिको दिगो संकलन र व्यापार सहजीकरण गर्न एन्साबका गतिविधि, iii) हालका चुनौती, मुख्यतया नीतिगत विरोधाभास, कोटा निर्धारणका लागि दह्रो लगत सङ्कलन विधि, व्यापार नियमन गर्न अन्तर्राष्ट्रिय निकायसँगको सञ्चार र साइटेस सूचीकृत प्रजातिको व्यापार पहिचानयोग्यता, र iv) ती चुनौती सम्बोधन गर्ने अगाडिका बाटोमा केन्द्रित थियो। कार्यशालामा वन तथा भू–संरक्षण विभाग र वनस्पति स्रोत विभागका महानिर्देशक, बागमती प्रदेशका १३ वटा जिल्लाका डिभिजनल वन अधिकृत र राष्ट्रियस्तरका प्रशोधन तथा व्यापारिक कम्पनीसहित ३२ जना सहभागी जुटे।
यो कार्यशाला नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयअन्तर्गत वनस्पतिका लागि साइटेस व्यवस्थापन निकाय वन तथा भू–संरक्षण विभागको नियमित वार्षिक कार्यक्रमको एक हिस्सा थियो।
एन्साबले ‘साइटेससँग सफल हुँदै: नेपालबाट जटामसीको दिगो र समतामूलक व्यापार’ परियोजना कार्यान्वयन गरेको छ र हाल ‘जनताका लागि हिमाली वनस्पति: जैविक विविधता र विकासका लागि दिगो व्यापार’ परियोजना बेलायत सरकारको आर्थिक सहयोगमा डार्विन इनिसिएटिभ मार्फत, ट्राफिक सँगको साझेदारीमा र वन तथा वातावरण मन्त्रालय को स्वीकृतिमा सञ्चालन गरिरहेको छ। यी परियोजनाले नेपालमा साइटेसको प्रभावकारी कार्यान्वयनका लागि नेपाल सरकारसँग निकट रूपमा काम गरेका छन्।