एन्सावका हस्तक्षेपका कारण जुम्लाको चौधबीसा क्षेत्रका स्थानीय महिलाको कार्यभार उल्लेख्य रूपमा घटेको छ भने स्रोत संरक्षण रणनीतिप्रति रुचि बढेको छ। धतेलो (Prinsepia utilis) बिरुवा ग्रामीण क्षेत्रमा निकै उपयोगी छ, किनकि यसको शरीर बारका लागि र जाडो मौसममा घरपालुवा जनावरको दानाका लागि प्रयोग गर्न सकिन्छ। तर धेरै समुदायका लागि सबैभन्दा महत्त्वपूर्ण यसका फल हुन्, जसलाई निचोर्दा खान मिल्ने तेल निस्कन्छ जुन धेरै गाउँको मुख्य खाने तेल बनेको छ। तर थोरै तेल उत्पादन गर्न धेरै परिश्रम चाहिन्छ र फल कुट्ने काम निराशाजनक थियो जसलाई धेरैले गर्न मानेनन् र प्रायः समुदायका महिलाहरूमा छोडिन्थ्यो।
जुम्लाका अन्य भागमा जस्तै पाटमारा, पात्रासी, दिल्लीचौर र चुमचौरका महिला बिहानै उठेर रातिसम्म घरायसी कामले व्यस्त हुन्छन्। उनीहरूको दैनिक गतिविधिमध्ये एक गाउँको खाने तेलको मुख्य स्रोत धतेलो तेल निकाल्ने काम थियो। समुदायसँग उद्यमका विकल्प खोज्दा महिला समूहको पहिलो प्राथमिकता धतेलो तेल निकाल्ने कार्य सजिलो बनाउनु थियो। परियोजनाको सहयोगमा तेल पेल्ने मिल स्थापना गरियो।
भगवती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भूनबहादुर बिष्टले भने, “परम्परागत रूपमा हामी ८ माना (४ केजी) कच्चा धतेलो फलबाट आधा लिटर तेल मात्र निचोर्न सक्थ्यौँ। उद्यम स्थापनापछि मिलले अब ४ केजी धतेलोबाट १ लिटर तेल उत्पादन गर्छ।” एउटा घरधुरीले दिनमा २० देखि ३० माना (१०–१५ केजी) धतेलो निचोर्थ्यो, तर उद्यमले हामी दिनमा ३५० माना (१७५ केजी) पेल्न सक्छौँ,” भूनबहादुर भन्छन्। उद्यमले तेल निकाल्ने दक्षता १०० प्रतिशत बढाएको छ। उच्च उत्पादनका अतिरिक्त यी गाउँका महिलाले धतेलो तेल निकाल्ने श्रम–केन्द्रित कामबाट केही राहत पाएका छन्। प्रजातिको महत्त्व बुझेर स्थानीय जनताले आफ्नो जग्गामा यो प्रजाति रोप्न थालेका छन्। यो प्रजाति पाखोबारी जस्ता सीमान्त जमिनमा उमार्न सकिन्छ। उद्यमले १,५०० घरधुरीलाई आर्थिक अवसर मात्र नदिई स्रोत व्यवस्थापनमा मानिसको रुचि पनि बढाएको छ।