“जैविक खेती अभ्याससम्बन्धी टुलकिट” को उद्देश्य जैविक खेतीबारे व्यावहारिक ज्ञान र सीप उपलब्ध गराएर निर्वाहमुखी खेती गर्ने समुदायलाई उद्यमशील जैविक उत्पादकमा रूपान्तरण गर्न योगदान दिनु हो। यो टुलकिट पाठ्यक्रम डिजाइन, तालिम योजना विकास र तालिम, प्राविधिक सहयोग तथा क्षमता विकास गतिविधिमार्फत किसानको क्षमता विकासबारे मार्गदर्शन र प्राविधिक सामग्री उपलब्ध गराउन विकास गरिएको हो। विशेष गरी यसले सहजकर्ताहरूलाई किसानलाई जैविक कृषि अभ्यास अपनाउन तयार पार्न र सहयोग गर्न मार्गदर्शन र औजार प्रदान गर्छ।
यो टुलकिट मुख्यतया जैविक कृषिको प्रवर्द्धनमा रुचि राख्ने र जिम्मेवार विकास सङ्गठन तथा सरकारी निकायमा काम गर्ने क्षेत्र सहजकर्ता र कार्यक्रम व्यवस्थापकलाई लक्षित गरिएको हो। यो टुलकिट जैविक उत्पादक समूहका लागि पनि उपयोगी हुन सक्छ र जैविक कृषिमा रुचि राख्ने अनुसन्धानकर्ता, विद्यार्थी र कृषि व्यावसायिकका लागि सन्दर्भ सामग्रीका रूपमा काम गर्न सक्छ।