मिति: जुलाई ४–५, २००३ स्थान: नगरकोट, नेपाल आयोजक: एन्साब भाषा: अङ्ग्रेजी पृष्ठ सङ्ख्या: २१ मूल्य: निःशुल्क
एसिया नेटवर्क फर सस्टेनेबल एग्रिकल्चर एण्ड बायोरिसोर्सेज (एन्साब) ले वन तथा भू–संरक्षण मन्त्रालय, वन विभाग, वनस्पति स्रोत विभाग, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन), हिमाली जडीबुटी सरोकार समूह (एचजेएसएस), गैरकाष्ठ वन पैदावार प्रवर्द्धन सार्वजनिक–निजी साझेदारी, नेपाल गैरकाष्ठ वन पैदावार सञ्जाल र युएसएआईडी तथा एसएनभी नेपालजस्ता दाता सङ्गठनसहित विभिन्न संस्था प्रतिनिधित्व गर्ने सकेसम्म फराकिलो दायराका सरोकारवालाको संलग्नतामा जुलाई ४–५, २००३ मा नगरकोटमा राष्ट्रियस्तरको नीतिगत कार्यशाला आयोजना गर्यो।
कार्यशाला गैरकाष्ठ वन पैदावार उप–क्षेत्रमा नीतिसँग सम्बन्धित अवसर र नीतिगत चुनौती पहिचान गर्न र सामाजिक, आर्थिक र वातावरणीय सरोकार सम्बोधन गर्ने नीतिगत सिफारिस गर्न आयोजना गरिएको थियो।
कार्यशालाको प्रमुख उपलब्धि गैरकाष्ठ वन पैदावार नीति सुधारका लागि नगरकोट घोषणापत्र र थप कार्यका लागि सिफारिस थिए। कार्यशालाले गैरकाष्ठ वन पैदावारको भूमिकाको कदर गर्ने र अनुकूल नीतिगत वातावरण सिर्जना गर्ने प्रयास गर्ने नीतिगत पहल सुदृढ गर्नुपर्ने आवश्यकता औँल्यायो। सरकारी निकायले समाजका गरिब र सीमान्तकृत समूहले गैरकाष्ठ वन पैदावारबाट लाभ लिन सकून् भनेर अनुकूल नीति बनाउने प्रतिबद्धता पनि व्यक्त गर्यो। तथापि गैरकाष्ठ वन पैदावारमा जटिल सङ्कलन अनुमति र कारोबार तथा बजारीकरणमा अन्य कानुनी बाधाजस्ता नीतिगत तहका गतिविधिमा केही प्रमुख मुद्दा सुधार गर्नुपर्ने छ र वन कानुन र नीतिमा संशोधनसँगै छुट्टै योजना निर्माण गर्नुपर्ने आवश्यकता छ। वनमा आधारित उद्यम दर्ताको प्रक्रियाका लागि उचित समयसीमा तोक्नुका साथै वन तथा जैविक प्रमाणीकरणको प्रवर्द्धनका लागि प्रयास गर्न पनि सिफारिस गरिएको छ। सम्भावित वन उपभोक्ता समूहलाई हस्तान्तरणमा हुने कुनै पनि ढिलाइको कारण तोकिएको समयभित्र दिन पनि सुझाव दिइएको छ।
कार्यशाला पूर्ण रूपमा अन्तरक्रियात्मक र उत्पादनमूलक रह्यो। कार्यशालाले गैरकाष्ठ वन पैदावार नीतिगत मुद्दाको छानबिन गर्न पनि सक्षम भयो। कार्यशालाका प्रमुख सिफारिस सबै पक्षबाट नीतिगत दस्तावेजमा रूपान्तरण गर्न र सकेसम्म चाँडो कार्यान्वयनमा ल्याउन सहमत गरिए।