
शङ्खदेवी सामुदायिक वन उपभोक्ता समूहले सन् १९९८ मा एन्सावबाट सहयोग पाउन थाल्यो र अहिले नेपालको दोलखा जिल्लाको ३०१ हेक्टर उपोष्णकटिबन्धीय र समशीतोष्ण वनको व्यवस्थापन गर्दैछ। यो उपभोक्ता समूह अर्गेली (Edgeworthia gardneri) र लोक्ता (Daphne spp.) जस्ता उच्च मूल्यका हस्तनिर्मित कागजका लागि रेसा दिने झाडीजन्य गैरकाष्ठ वन पैदावार (एनटीएफपी) को व्यावसायिक सङ्कलनमा जिल्लाको अग्रणी हो।
उपभोक्ता समूहका गरिब सदस्यको पुँजी, जमिन, ज्ञान र व्यवस्थापन क्षमतामा पहुँचको अभाव जस्ता मुद्दा सम्बोधन गर्न एन्सावले उपसमूह डिजाइन गर्यो। समुदायका सबैभन्दा गरिब व्यक्तिहरू रहेका उपसमूहलाई उपभोक्ता समूहले एनटीएफपी, घाँस र घाँसका नयाँ प्रजाति रोप्न जमिनका टुक्रा बाँडिदिएको छ, जसलाई उनीहरू आफैँ व्यवस्थापन गरी बिक्री गर्छन्। त्यसपछि उनीहरू बिक्री आम्दानी उपसमूहका सदस्यबीच पुनः वितरण गर्छन्। समूहले दीर्घकालीन आर्थिक सहयोगका स्रोत सिर्जना गर्न बचत तथा ऋण योजना पनि सुरु गरेको छ।
चार सन्तानकी आमा र एक उपसमूहकी अध्यक्ष श्रीमती बुद्धमाया तामाङ कुल २२ सदस्य घरधुरीको प्रतिनिधित्व गर्ने व्यक्तिमध्ये एक हुन्। “एन्सावले दिएको तालिमअघि,” बुद्धमाया भन्छिन्, उनलाई “वन व्यवस्थापन वा ऋण र बचतबारे केही थाहा थिएन।”
तर उपसमूहको सिकाइ वित्त र प्रशासनभन्दा पर गएको छ। आफ्नै जमिनका टुक्रा पाउँदा समूहले क्षेत्रीय वातावरणलाई फाइदा पुर्याउने कृषि वनजङ्गल अभ्यास पहिचान गरेको छ। विशेषगरी, “हामीले जलाधार व्यवस्थापनबारे थाहा पायौँ। पहिले हामी बर्खा मौसममा सुकेका पात सङ्कलन गर्थ्यौँ। अब हामीले बुझ्यौँ कि यसले माटोलाई असर गर्छ।” माटो जोगाउन र पहिरो रोक्न उपसमूहले यो अभ्यास बन्द गरेको छ र “हामीले अन्तरबाली लगाउन पनि सुरु गर्यौँ,” सह–अध्यक्षले व्याख्या गरिन्।
बुद्धमायाका अनुसार उपसमूहको अर्को कदम भाडामा लिएको जमिनमा उत्पादन गरेको सामान बेच्न पसल खोल्ने हो। उनीहरू समुदायका मानिसले काठमाडौँ केन्द्रित ठूला कम्पनीले वितरण गर्ने उत्पादनको तुलनामा सस्तो मूल्यमा बिक्री हुने स्थानीय उत्पादन किन्दा फाइदा हुन्छ र वास्तविक उत्पादन बिक्रीबाट हुने नाफाका अतिरिक्त स्थानीय रोजगारी पनि सिर्जना हुन्छ भन्ने ठान्छन्।
“जङ्गल फर्किँदै गरेको देख्दा राम्रो लाग्छ,” बुद्धमाया भन्छिन्। “हामीसँग नेपालीमा ‘हरियो वन नेपालको धन’ भन्ने उखान छ।” वास्तवमा सामुदायिक वन आन्दोलनको कारण नेपालमा वन विनाश दर आज केवल ०.७ प्रतिशतमा झरेको छ र सफलताको प्रमाण तीन दशकअघि बाँझो र खैरो रहेका घना जङ्गलले ढाकिएका पाखामा सजिलै देख्न सकिन्छ।
“म हाम्रो उपसमूहलाई अझ अगाडि बढाउन चाहन्छु,” श्रीमती तामाङ व्याख्या गर्छिन्। “म हाम्रो आर्थिक र वातावरणीय अवस्था अझ सुधार्न चाहन्छु। भविष्यमा मेरा बालबालिकाले हामीले अहिले गरिरहेको कामबाट लाभ पाउन् भन्ने आशा गर्छु।”