
यो १.५–१.८ मिटरसम्म अग्लो हुने बहुवर्षीय जडीबुटी हो। यसको भूमिगत प्रकन्द र जराहरू बिक्री हुने भाग हुन्। प्रकन्द बाक्लो, काठजस्तो र खैरो रङको हुन्छ र अमिलो स्वाद हुन्छ। पातहरू सरल, एकान्तर, ३०–४५ सेन्टिमिटर लामो पात–डाँठ भएका जरादेखि निस्कने हुन्छन्। फूलहरू साना र गाढा रातो–बैँगनी रङका हुन्छन्, लामा, धेरै शाखा भएका, सिधा मञ्जरीमा। फलहरू अण्डाकार, आयताकार, बैँगनी र ३ पाखा भएका हुन्छन्। पात–डाँठ अमिलो हुन्छ र अचारका रूपमा खाइन्छ। फूल फुल्ने समय असार–भदौ (जुन–सेप्टेम्बर) हो।