प्रतिवेदन तथा केस स्टडी

दिगो कृषिको खोजीमा: नेपालको जैविक कृषिसम्बन्धी राष्ट्रिय नीतिको समीक्षा

लेखक: डा. किशोर अत्रेय प्रकाशक: एन्साब भाषा: अङ्ग्रेजी प्रकाशन मिति: अगस्ट २०१५ पृष्ठ सङ्ख्या: ४२+६ मूल्य: निःशुल्क

नेपालसँग दिगो कृषि विकास गर्नमा तुलनात्मक लाभ छ; र देशभर छरिएका केही असल अभ्यासको अस्तित्व यस दिशामा सम्पत्ति हुन सक्छ। तर यी असल अभ्यासलाई मूल्य शृङ्खलाको सम्भाव्य प्रणालीमा एकीकृत गर्ने प्रयासको अझै अभाव छ। यस्तो अवस्थामा लागू गर्न कुनै उपयुक्त कृषि–व्यवसाय मोडेल छैन। यो क्षेत्र अझै मुख्यतया निर्वाहमुखी खेती, परम्परागत खेती अभ्यास, जग्गाको खण्डीकरण र न्यून ज्ञानको प्रभुत्वमा छ र न्यून उत्पादकत्व र उत्पादनले ग्रस्त छ। यो क्षेत्र नयाँ प्रविधि, सम्भाव्य उत्पादन, उदीयमान बजार र व्यवसायका सम्भावनाका सन्दर्भमा द्रुत परिवर्तनसँग बराबरी गर्न सङ्घर्ष गरिरहेको छ। आंशिक रूपमा थोरै पारिश्रमिक र परम्परागत खेती अभ्यासको प्रयोगका कारण खेतीप्रति स्थानीय मानिसमा यो तुच्छ, झन्झटिलो र अप्रतिष्ठित रोजगारी हो भन्ने व्यापक नकारात्मक धारणा छ। यी कारकले ग्रामीण मानिस, विशेष गरी युवालाई आफ्ना बालबालिका र वृद्ध परिवारलाई पछाडि छाडेर राम्रो जीविकोपार्जन अवसर र उच्च आम्दानीको खोजीमा सहर र विदेशतर्फ बसाइँसराइ गर्न बाध्य बनाएका छन्।

नेपालको कृषि क्षेत्रमा रहेको सम्भावना उपयोग गर्न र यो क्षेत्रले हाल सामना गरिरहेका स्रोत क्षयीकरण, खण्डित जग्गाधनी, अनियमित जलवायु प्रणाली, कमजोर बजार सम्बन्ध र श्रम अभावका चुनौती सम्बोधन गर्न एन्साबले परम्परागत वन र कृषिलाई जलवायु–स्मार्ट, आकर्षक र सामाजिक रूपमा प्रतिष्ठित व्यवसायमा रूपान्तरण गर्ने लक्ष्यसहित पारिस्थितिक प्रणालीमा आधारित व्यावसायिक कृषि (ईसीए) नामको कार्यक्रमको परिकल्पना गर्‍यो। एन्साबले परिकल्पना गरेको ईसीए ले दिगो रूपमा उत्पादन र उत्पादकत्व बढाउँछ, जलवायु परिवर्तनप्रति कृषि–पारिस्थितिक प्रणाली र मानिसको उत्थानशीलता सुधार्छ, हरितगृह ग्यास घटाउँछ/हटाउँछ, र युवालाई आकर्षित गरी राम्रो पारिश्रमिकसहित यसलाई सामाजिक रूपमा प्रतिष्ठित बनाउँछ।

यही पृष्ठभूमिमा एन्साबले नेपालमा दिगो (जैविक) कृषिको क्षेत्रमा हालको अवस्था र नीतिगत अन्तर विश्लेषण गर्न कृषिसँग सम्बन्धित उपलब्ध राष्ट्रियस्तरका नीतिगत दस्तावेज र उपलब्ध साहित्यको पुनरावलोकन गर्न यो अध्ययन सञ्चालन गरेको छ।