
वन विनाश र वन क्षयीकरणबाट हुने उत्सर्जन घटाउने (रेड) ले अन्तर्राष्ट्रिय जलवायु वार्तामा प्रमुख ध्यानाकर्षण पाएको छ। रेडबारे विकसित हुँदै गएका छलफलले वनलाई जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलन दुवैको अग्रपङ्क्तिमा ल्याएका छन्। अन्य कुराका साथै सफल रेड कार्यक्रमलाई वन कार्बन भण्डारण मापन र अनुगमनका लागि भरपर्दो, सटीक र लागत प्रभावी विधि चाहिन्छ। नेपालमा धेरै शैक्षिक अनुसन्धान र विकास सङ्गठनको संलग्नता भए पनि साझा, भरपर्दो र प्रयोगकर्ता–मैत्री वन कार्बन मापन विधि अझै अभाव छ। ‘वन कार्बन भण्डार मापन: समुदाय व्यवस्थित वनमा कार्बन भण्डार मापनका लागि निर्देशिका’ एसिया नेटवर्क फर सस्टेनेबल एग्रिकल्चर एण्ड बायोरिसोर्सेज (एन्साब) को प्राविधिक टोलीले परियोजना व्यवस्थापन इकाई–इसिमोड; अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विज्ञ; र प्रमुख सरोकारवालासँगको परामर्शमा तयार गरेको हो। यो एसिया नेटवर्क फर सस्टेनेबल एग्रिकल्चर एण्ड बायोरिसोर्सेज (एन्साब), इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) र सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल (फेकोफन) ले नर्वेजियन विकास सहयोग निकाय (नोराड) को आर्थिक सहयोगमा कार्यान्वयन गरेको पहल रेड पाइलट परियोजना ‘वन विनाश र वन क्षयीकरणबाट हुने उत्सर्जन घटाउने अन्तर्गत नेपालको सामुदायिक वन व्यवस्थापनका लागि शासन र भुक्तानी प्रणालीको डिजाइन र स्थापना’ को उत्पादन हो। निर्देशिकाले वन जमिन उपयोग प्रणालीले सञ्चित गरेको जैविक कार्बन मापन गर्ने विधि, प्रक्रिया र चरण वर्णन गर्छ। यसले वन कार्बन मापनका विश्वव्यापी रूपमा स्वीकृत उपकरण, औजार, विधि, प्रक्रिया र मापदण्ड परिचित गराउँछ र तिनलाई अझ दक्ष र प्रभावकारी रूपमा प्रयोग गर्ने विस्तृत विधि प्रस्ताव गर्छ। अर्को शब्दमा भन्नुपर्दा, सम्मिश्रित विधि र प्रक्रियाहरू पारिस्थितिक क्षेत्र र व्यवस्थापन व्यवस्थाको फराकिलो दायरामा लागू गर्न सकिने गरी सुसङ्गत रूपमा प्रस्तुत गरिएका छन्। निर्देशिकाले सुदूर संवेदन नक्सा र औजारको सहयोगमा सहभागितामूलक सीमा निर्धारणका साथै सुदूर संवेदन, जीआईएस र जमिनी सूचीकरण प्रयोगको पूर्ण प्रक्रिया उपलब्ध गराउँछ। सङ्क्षेपमा, ती नेपालका विशिष्टतासँग अनुकूलित वन कार्बन मापनका सटीक, परिशुद्ध, भरपर्दो र प्रयोगकर्ता–मैत्री विधि प्रदान गर्छन्।