मिति: जनवरी ९–१०, २००४ स्थान: गोदावरी, काठमाडौँ, नेपाल आयोजक: एन्साब भाषा: अङ्ग्रेजी पृष्ठ सङ्ख्या: २० + २६ मूल्य: निःशुल्क
एसिया नेटवर्क फर सस्टेनेबल एग्रिकल्चर एण्ड बायोरिसोर्सेज (एन्साब) ले जनवरी ९–१०, २००४ मा गोदावरी, काठमाडौँमा गैरकाष्ठ वन पैदावारको प्रमाणीकरण र दिगो बजारीकरण – निजी सार्वजनिक साझेदारी (पीपीए) को दुई दिने वार्षिक समीक्षा र योजना बैठक आयोजना गर्यो। अहिलेसम्म पहिचान गरिएका सबै साझेदार सदस्यका प्रतिनिधि बैठकमा उपस्थित थिए। तिनमा अमेरिकी उत्पादन खरिदकर्ता र डिजाइनर (अवेडा र अमेरिकन हर्बल प्रोडक्ट्स एसोसिएसनसँग यसका विस्तारित उद्योग सम्पर्क); प्रमाणीकरण विशेषज्ञता (रेनफरेस्ट एलायन्स); नेपाली कम्पनीको विविध दायरा (हिमालयन बायोट्रेड प्रा. लि., गोरखा आयुर्वेद कम्पनी (प्रा.) लि., र अल्टरनेटिभ हर्बल इन्डस्ट्री); नेपाली सञ्जाल र गैरसरकारी संस्था (एसिया नेटवर्क फर सस्टेनेबल एग्रिकल्चर एण्ड बायोरिसोर्सेज (एन्साब), नेपाल गैरकाष्ठ वन पैदावार सञ्जाल (एनएनएन), हिमाली जडीबुटी सरोकार समूह (एचजेएसएस), नेपाल स्विस सामुदायिक वन परियोजना (एनएससीएफपी), र सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल (फेकोफन)); सरकार (वनस्पति स्रोत विभाग, वन विभाग); र नेपालमा सामुदायिक वन उपभोक्ता समूह विकास र गैरकाष्ठ वन पैदावार उद्योग समन्वय गरिरहेका दाताहरू (आईडीआरसी, फोर्ड फाउन्डेसन, एसएनभी) समावेश थिए।
बैठकको उद्देश्य पहिलो वर्षमा साझेदारीको प्रगतिको समीक्षा गर्ने, दोस्रो वर्षको कार्ययोजनालाई अन्तिम रूप दिने, र नेपालमा वन प्रमाणीकरण पहलमा साझेदार सदस्यका अनुभव साझा गर्ने थियो।