अतिस १ मिटरसम्म अग्लो हुने बहुवर्षीय जडीबुटी हो। यसका पातहरू मुटुको आकारका हुन्छन्, ५–१० सेन्टिमिटरसम्म। अतिसका पातहरू विषमरूपी हुन्छन्। अतिसका सबैभन्दा तल्ला पातहरूमा पात–डाँठ हुन्छन् र यी पातका खण्ड नसाले पाँच भागमा बाँडिएका हुन्छन्। जबकि सबैभन्दा माथिल्ला पातहरूमा पात–डाँठ हुँदैनन् र ती सिधै डाँठमा जोडिएका हुन्छन्। सबैभन्दा माथिल्लो पातमा पनि विभाजन हुँदैन। फूलहरू रौँयुक्त र गाढा निलो रङका हुन्छन्। पातका नसा बैँगनी रङका हुन्छन्। फल लामा र तीखा आकारका हुन्छन्। एउटा फल पाँच भागमा बाँडिएको हुन्छ। नेपाली साहित्यमा अतिस Delphenium Himalaya का रूपमा प्रख्यात छ, जुन यसको अर्को वैज्ञानिक नाम हो। भारतमा Aconitum Heterophyllum लाई अतिस भनिन्छ। राष्ट्रिय वनस्पति सङ्ग्रहालय तथा प्रयोगशालाले सङ्कलन गरेका अतिसका नमुनाले अहिलेसम्म अतिसमा भएको अध्ययन पर्याप्त र उल्लेखनीय छैन भन्ने देखाउँछ। त्यसैले अतिसमा थप अनुसन्धान कार्य गर्नुपर्छ।