
यो परियोजना ठूलो संरक्षण कार्यक्रमका लागि दायरा निर्धारण र क्षमता निर्माण गर्न, संरक्षणका विद्यमान आवश्यकता सम्बोधन गर्न तात्कालिक उपाय परिचय गराउन र वनमा निर्भर समुदायको जीविकोपार्जन सुधार्न निरन्तर सहयोग गर्न लक्षित थियो। परियोजना गतिविधि नवलपुर जिल्लाको कावासोती र मध्यविन्दु नगरपालिकामा कार्यान्वयन गरिएको थियो।
परियोजनाले जैविक विविधता संरक्षण र भू–परिधि जोडिने महत्त्वपूर्ण क्षेत्र पहिचान र सीमाङ्कन गरेर, प्राकृतिक स्रोतमाथिको मानवजन्य दबाबको सापेक्ष स्तर र जैविक विविधताका खतरा निर्धारण गरेर र आफ्नो वनमाथि व्यवस्थापन अधिकार प्राप्त गर्न सहयोग चाहिने सामुदायिक वन उपभोक्ता समूह र सम्बन्धित वन क्षेत्रको सीमाङ्कन पहिचान गरेर सहयोगी परियोजना गतिविधिको योजनासहित चितवन राष्ट्रिय निकुञ्ज र मध्य पहाडबीचको सम्भावित संरक्षण परियोजना क्षेत्रको दायरा अध्ययन सञ्चालन गर्यो।
परियोजना क्षेत्रमा वनमा निर्भर समुदायको जैविक विविधता संरक्षण, जलाधार उत्थानशीलता, वन र प्राकृतिक भण्डारको पुनर्स्थापना र गैरकाष्ठ वन पैदावार (एनटीएफपी) को दिगो संकलनमा क्षमता विकास गरियो। यसै क्रममा दिगो वन व्यवस्थापन र लेखा तथा अभिलेख राख्नेबारे तालिम उपलब्ध गराइयो। महाराजा र बुद्ध सामुदायिक वन उपभोक्ता समूह (सीएफयूजी) मा गैरकाष्ठ वन पैदावारसहितको वन लगत सङ्कलन गरियो र सामुदायिक वन उपभोक्ता समूहलाई उनीहरूको सञ्चालन योजना र विधान परिमार्जनमा सहयोग गरियो। साथै, क्षेत्रमा वन्यजन्तुको क्षति सम्बोधन गर्दै वनमा निर्भर समुदायको जीविकोपार्जन प्रवर्द्धन गर्न परियोजनाले बीउ र बिरुवाको व्यवस्था, अवलोकन भ्रमण र समुदायलाई वृक्षारोपण तालिमसहित सुगन्धित तेल दिने वनस्पतिको वृक्षारोपणलाई प्रवर्द्धन गर्यो। यसबाहेक वनमा निर्भर समुदायको जीविकोपार्जन र संरक्षणमा आधारित आर्थिक विकासलाई उद्यमशीलता विकास तालिम, अग्रणी फर्मलाई व्यावसायिक सहयोग र समुदायले रोपेका औषधीय तथा सुगन्धित वनस्पतिबाट सुगन्धित तेल निकाल्न प्रशोधन इकाइ स्थापनामार्फत सहयोग गरियो।