परियोजनाहरू

सुगन्धित तेलको गुणस्तरीय उत्पादन र बजारीकरणका लागि समुदायको क्षमता विकास

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको वन तथा फार्म सुविधा कार्यक्रमले कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिकाको शिवमन्दिर र छिमेकी सामुदायिक वन उपभोक्ता समूहमा अत्तरको गुणस्तरीय उत्पादन र बजारीकरणको प्रवर्द्धनका लागि एन्साबसँग सहयोग मागेको थियो। २०२० जुनदेखि २०२१ अप्रिलसम्म कार्यान्वयन गरिएको यो परियोजनाले

  1. क्षेत्रका अत्तर दिने वनस्पति, प्रशोधन उद्यम र उत्पादन सम्भावनाको विस्तृत पुनरावलोकन प्रस्तुत गर्ने मूल्याङ्कन प्रतिवेदन तयार गर्‍यो, र अत्तर दिने वनस्पतिको दिगो उत्पादन र उद्यम सञ्चालनका लागि योजना विकास गर्‍यो;
  2. ५० भन्दा बढी किसान र अत्तर उत्पादन उद्यमका सञ्चालकलाई अत्तर र यसका उत्पादनको उत्पादन (जैविकसहित), प्रशोधन, उत्पादन विकास, लेबलिङ र बजारीकरणबारे क्षमता विकास गर्‍यो;
  3. शिवमन्दिर प्रशोधन उद्यमको विस्तृत व्यवसाय योजना विकास गर्‍यो र व्यवस्थापन समिति तथा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिलाई व्यवसाय योजनाबारे तालिम दियो;
  4. स्रवण इकाइको फोहोर पानीबाट एउटा उत्पादन (भुइँ सफा गर्ने तरल) विकास गर्‍यो र स्थानीय तथा नजिकका क्षेत्रीय बजारमा परीक्षण गर्‍यो;
  5. प्रशोधन उद्यम व्यवस्थापन समिति र नेपालगञ्जस्थित खरिदकर्ता तथा किसान र बीउ/बिरुवा आपूर्तिकर्ताबीच सम्बन्ध स्थापित गर्‍यो; र
  6. देशमा अत्तर क्षेत्रमा संलग्न विद्यमान सरोकारवालाको जानकारी सङ्कलन प्रस्तुत गर्ने अत्तरका सरोकारवालाको निर्देशिका विकास गर्‍यो।