
सञ्जालीकरण, नीति तथा अनुसन्धान कार्यक्रममार्फत एन्साबले तल्लो तहका नेतृत्वदेखि राष्ट्रिय सरकारका अधिकारीसम्म प्रमुख सरोकारवालासँग मिलेर सामुदायिक वन र गैरकाष्ठ वन पैदावारसम्बन्धी नीतिको विकास तथा कार्यान्वयन सुधार गर्छ। यी क्षेत्रलाई समग्रतामा प्रवर्द्धन गर्न यसले अग्रणी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निजी कम्पनी, सार्वजनिक निकाय, नीतिगत मञ्च तथा सञ्जाल र गैरनाफामूलक संस्थाको विशेषज्ञता पनि उपयोग गर्छ। विशेष गरी कार्यक्रमका गतिविधि यस प्रकार छन्:
सञ्जालीकरण: नेपाल गैरकाष्ठ वन पैदावार सञ्जाल (NNN), निजी–सार्वजनिक गठबन्धन (PPA), सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन), नेपाल हर्ब्स एण्ड हर्बल प्रोडक्ट्स एसोसिएसन (नेह्पा) र जडीबुटी एसोसिएसन अफ नेपाल (जाबान) जस्ता विभिन्न महत्त्वपूर्ण सञ्जालको समन्वय तथा सहभागिता।
नीति: गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, सरकार र निजी क्षेत्रबीच नीतिगत संवादको आयोजना; स्थानीय गाउँ विकास समिति (गाविस), जिल्ला विकास समिति (जिविस) र जिल्ला वन अधिकृत (DFO) तथा राष्ट्रिय सरकारसँग निरन्तर रूपमा प्रमाणमा आधारित पैरवी।
अनुसन्धान: जैविक अनुगमन, जैविक विविधता, सामुदायिक वन, पारिस्थितिक प्रणालीका सेवा, दिगो संकलन, लैङ्गिक विश्लेषण, मूल्य शृङ्खला, रेड–प्लस र वन कार्बन भण्डार मापन विधिलगायत एन्साबको कामसँग सम्बन्धित सबै वैज्ञानिक तथा व्यवस्थापकीय पक्षमा अनुसन्धान तथा अध्ययन सञ्चालन।