कार्यक्रमहरू

क्षमता विकास तथा सेवाहरू

स्थानीय समुदायले आफूले धेरै भर पर्ने पारिस्थितिक प्रणालीलाई दिगो र समावेशी ढङ्गले व्यवस्थापन गर्न आवश्यक ज्ञान पाऊन् भन्ने एन्साबको उद्देश्य हो। त्यसैले यसले आफ्ना सबै परियोजनामा क्षमता विकासमा ठूलो ऊर्जा लगाउँछ। विशेष गरी कार्यक्रमका गतिविधि यस प्रकार छन्:

तालिम: तल्लो तहका परिचालन कार्यशालादेखि वातावरणीय मूल्याङ्कन फिल्ड कक्षा र गैरकाष्ठ वन पैदावार प्रशोधन तथा रेड–प्लसको प्राविधिक कोचिङसम्म सबै स्वरूपका तालिमको आयोजना। कार्यक्रमले मूलतः महिला, गरिब र अन्य बहिष्करणमा परेका समूहलाई लक्षित गर्छ, तर सरकारी तथा गैरसरकारी संस्था, परामर्शदाता, विज्ञ र अनुसन्धानकर्ताका लागि क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि विभिन्न कार्यक्रम आयोजना गरिन्छ। हाल उपलब्ध तालिम प्याकेज:

  1. उद्यम विकास योजना
  2. उद्यमशीलता विकास
  3. व्यवसाय योजना
  4. सामुदायिक वन
  5. सञ्चालन योजना तयारी, आफ्नो व्यवसाय सुरु र सुधार (SIYB)
  6. गैरकाष्ठ वन पैदावार लगत सङ्कलन
  7. गैरकाष्ठ वन पैदावार व्यवस्थापन
  8. मूल्य शृङ्खला विश्लेषण
  9. रेड–प्लस (REDD+)
  10. वन कार्बन भण्डार लेखाङ्कन
  11. जैविक विविधता अनुगमन
  12. वन तथा उत्पत्ति–शृङ्खला (CoC) प्रमाणीकरण

अध्ययन भ्रमण: सफल सामुदायिक वन उपभोक्ता समूह वा समुदायमा आधारित उद्यमको अध्ययन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता, दाता, खरिदकर्ता र साझेदारहरूका लागि फिल्ड भ्रमणको आयोजना। उत्कृष्ट अभ्यासलाई फैलाउन र पारस्परिक लाभ हुने व्यावसायिक सम्बन्ध निर्माण गर्न कार्यक्रमले समान अवस्थाका सामुदायिक वन र उद्यमबीच अनुभव आदानप्रदान पनि सहजीकरण गर्छ।

प्राविधिक सहयोग: स्थानीय उद्यम, सामुदायिक वन उपभोक्ता समूह र जिल्ला वन कार्यालयदेखि राष्ट्रिय साझेदार र निर्यातकर्ता कम्पनीसम्म एन्साबले विगतमा काम गरेका सबै संस्थालाई निरन्तर सल्लाह; जैविक विविधता संरक्षण, वन स्रोत लगत र समुदायमा आधारित उद्यम विकाससम्बन्धी साझेदारका परियोजना र कार्यक्रमलाई सहयोग।

प्रकाशन: पुस्तक, पुस्तिका, लेख, प्रतिवेदन, कार्यवाही, मूल्य सूची, व्यापार निर्देशिका आदिको उत्पादन तथा वितरण।