विश्व वातावरण दिवस २०२४

५ जुन २०२४
५ जुन २०२४ – विश्व वातावरण दिवस २०२४ मनाउन एन्साबले नवलपुर जिल्लाको कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकामा विभिन्न सरोकारवालासँग साझेदारी गरी विविध कार्यक्रम आयोजना गर्यो।
एन्साबले “ऐतिहासिक कावासोती ताल संरक्षण तथा सिँचाइ जल उपभोक्ता समूह” र अन्य सरोकारवालासँग साझेदारी गरी तरुवा तालमा ताल सरसफाइ कार्यक्रम आयोजना गर्यो। यो पहल एन्साब, कावासोती नगरपालिका, जिल्ला प्रहरी कार्यालय, डिभिजन वन कार्यालय र अन्य सामुदायिक समूहको संयुक्त प्रयास थियो। कावासोती नगरपालिकाका नगर प्रमुखले उद्घाटन गरेको कार्यक्रमले हाम्रा प्राकृतिक जलस्रोतको संरक्षण र पुनर्स्थापनाको महत्त्वलाई उजागर गर्यो। साथै, एन्साबले कावासोती नगरपालिकाको श्री ज्ञानोदय माध्यमिक विद्यालयलाई रुख चिन्हित (ट्यागिङ) कार्यक्रममा पनि सहयोग गर्यो। यो कार्यक्रम विद्यार्थीमा जैविक विविधता र रुख संरक्षणको महत्त्वबारे चेतना जगाउन र सानै उमेरदेखि वातावरणप्रति जिम्मेवारीको भावना प्रवर्द्धन गर्न सुरु गरिएको थियो।
एन्साबले मध्यविन्दु नगरपालिका र इको–क्लब मध्यविन्दुको सहकार्यमा प्राथमिक तहका विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गर्यो। कार्यक्रम “हाम्रो भूमि, हाम्रो भविष्य: हामी #GenerationRestoration हौं” भन्ने विषयवस्तुमा केन्द्रित थियो, जसले विद्यार्थीलाई वातावरणीय पुनर्स्थापना र संरक्षणबारे सोच्न प्रोत्साहित गर्यो।
हुप्सेकोट गाउँपालिकामा एन्साबले श्री सरस्वती संस्कृत तथा आधारभूत विद्यालयसँग मिलेर वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सञ्चालन गर्यो। हरियो र सफा समुदाय निर्माणमा शिक्षक र विद्यार्थीको सक्रिय सहभागिता देखिएको थियो।