रोयल्टीको समीक्षा हुँदै
“श्री ५ को सरकारले सामुदायिक वन उपभोक्ता समूहले गैरकाष्ठ वन पैदावारको बिक्रीमा ४० प्रतिशत रोयल्टी लगाउने व्यवस्थाको समीक्षा पहिल्यै सुरु गरिसकेको छ,” वन विभागका उपमहानिर्देशक डा. केशव कनेलले भने। सामुदायिक वन उपभोक्ता समूहको प्रारम्भिक सफलतालाई लिएर सरकार गम्भीर छैन भन्ने शङ्का निराकरण गर्दै उनले सरकार सामुदायिक वन कार्यक्रमलाई सम्पूर्ण विश्वका लागि नमुना बनाउन प्रतिबद्ध रहेको बताए। उनले यो भनाइ एसिया सञ्जाल फर सस्टेनेबल एग्रिकल्चर एन्ड बायोरिसोर्सेस (एन्साब) ले आज नेपालगञ्जमा आयोजना गरेको जीसीपी उद्यममा आधारित जैविक स्रोत समीक्षा तथा योजना कार्यशालामा राखेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै एन्सावका कार्यकारी निर्देशक श्री भीष्म पी. सुवेदीले अनेक कठिनाइका बाबजुद उद्यममा आधारित दिगो जैविक स्रोत संरक्षण कार्यक्रमलाई सफल बनाउने सबै सरोकारवालालाई धन्यवाद दिए। “जीसीपी कार्यक्रम आफैँ नमुनाका रूपमा विकसित भएको छ,” उनले भने। उनले थपे, “समुदायको सहभागितामार्फत दिगो जैविक स्रोत संरक्षण र उद्यम विकास साँच्चै नै ठूलो उपलब्धि हो।”
एन्सावले मुगु, हुम्ला, जुम्ला, डोल्पा र बझाङमा कार्यान्वयन गरिरहेको पाँच वर्षे जीसीपी कार्यक्रम चौथो वर्षमा चलिरहेको छ। प्राकृतिक स्रोतमा आधारित उद्यमबाट करिब छ हजार घरधुरीले प्रत्यक्ष लाभ पाउँछन्। यसबाहेक, कार्यक्रमले ३०,००० हेक्टर समेटिएका ५३ सामुदायिक वन उपभोक्ता समूहको क्षमता विकासमा सघाएको छ।
यस अवसरमा क्षेत्रीय वन निर्देशक दिवाकर पाण्डेले हिमाली क्षेत्रमा दिगो जैविक स्रोत संरक्षण र ग्रामीण जनताको जीविकोपार्जन सुधारमा जीसीपी कार्यक्रमले हासिल गरेका उपलब्धिको प्रशंसा गरे।
युएसएआईडीका प्रतिनिधि श्री श्रीबिन्दु बज्राचार्यले भविष्यमा यस्ता कार्यक्रम निरन्तर राख्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था/गैरसरकारी संस्थाको सहभागिताको आवश्यकतामा जोड दिए।
पूर्वसांसद अर्जुनजङ्गबहादुर सिंह र बझाङ जिल्ला फेकोफनका अध्यक्ष श्री गगनबहादुर सिंहले पनि दिगो जैविक स्रोत संरक्षणमा समुदायको सहभागिताको भूमिकामा जोड दिए।
पूर्वसांसद, पूर्व जिविस सभापति, फेकोफन, एचजेएसएस र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था/गैरसरकारी संस्थाका प्रतिनिधि लगायत ७० सहभागी कार्यक्रममा उपस्थित थिए।
कार्यशालाले जीसीपी कार्यान्वयन गरिएका जिल्लाका लागि आगामी वर्षको कार्ययोजना समीक्षा गरी स्वीकृत गर्यो।
नेपालगञ्ज अगस्ट २७, २००३ सूचना तथा सञ्चार एकाइ एसिया सञ्जाल फर सस्टेनेबल एग्रिकल्चर एन्ड बायोरिसोर्सेस (एन्साब) फोन: ४४९ ७५४७, ४४७ ८४१ फ्याक्स: ४४७ ६५८६