१८ जुलाई २०१२

रेड–प्लस नमुना परियोजनाले दोस्रो वन–कार्बन भुक्तानी गर्‍यो


१८ जुलाई २०१२

२०१२ जुलाई १८ मा नेपालको रेड–प्लस नमुना परियोजनाअन्तर्गतका तीन जलाधारले वनको दिगो संरक्षण र व्यवस्थापनमा आफ्नो योगदानका लागि कार्बन भुक्तानीका रूपमा ९५,००० अमेरिकी डलरको प्रारम्भिक अनुदान प्राप्त गरे। वन तथा भू–संरक्षण मन्त्रालयका सहसचिव श्री रेशम बहादुर दाङ्गीले दोलखाको चरनावती जलाधार, गोरखाको लुडीखोला जलाधार र चितवनको कयरखोला जलाधारका रेड सञ्जाललाई क्रमशः ४४,१८८, २६,१२२ र २४,६९१ अमेरिकी डलरको चेक हस्तान्तरण गर्नुभयो।

रेड–प्लस नमुना परियोजना सन् २०१० देखि स्थानीय समुदायलाई समतामूलक लाभ बाँडफाँड र वन कार्बन भुक्तानी सुनिश्चित गर्ने संस्थागत संयन्त्र विकास गर्न नर्वेली विकास सहयोग नियोग (नोराड) को आर्थिक सहयोगमा एसिया नेटवर्क फर सस्टेनेबल एग्रिकल्चर एण्ड बायोरिसोर्सेस (एन्साब), एकीकृत पहाडी विकास अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले १०५ वटा सामुदायिक वन उपभोक्ता समूहमा कार्यान्वयन गर्दै आएका छन्। यस सन्दर्भमा सन् २०११ मा नमुना वन कार्बन ट्रस्ट फन्ड (एफसीटीएफ) स्थापना गरिएको थियो, जसले २०११ देखि २०१३ सम्म प्रति वर्ष १,००,००० अमेरिकी डलर प्रारम्भिक रकम उपलब्ध गराउँछ। एफसीटीएफ ले २०११ मा तीन जलाधारलाई पहिलो वन–कार्बन भुक्तानी गरेको थियो।