जीआईएस र जीपीएस म्यापिङसम्बन्धी प्रयोगात्मक तालिम
५ सेप्टेम्बर २०१४
एन्साबले २०१४ अगस्ट ३० देखि सेप्टेम्बर ३ सम्म दोलखाको चरिकोटमा पाँच दिने “जीआईएस र जीपीएस म्यापिङसम्बन्धी प्रयोगात्मक तालिम” आयोजना गर्यो। तालिमको मुख्य उद्देश्य जिल्लाको वन स्रोतको उचित व्यवस्थापनका लागि वन प्राविधिक र सरोकारवालाको भौगोलिक सूचना प्रणाली (जीआईएस) सम्बन्धी ज्ञान र क्षमता अभिवृद्धि गर्नु, तथा वन स्रोतको लगत सङ्कलन, सीमा नक्साङ्कन र भू–उपयोग तथा वन व्यवस्थापन योजनामा जीआईएस र यसको प्रयोगबारे ज्ञान बढाउनु थियो।
जिल्ला वन कार्यालय (डीएफओ) दोलखा, जिल्ला भू तथा जलाधार संरक्षण कार्यालय, गौरीशङ्कर संरक्षण क्षेत्र परियोजना (GCAP), केन्द्रीय फेकोफन (स्रोत व्यवस्थापक) र एन्साबका वरिष्ठ अधिकृतको प्रतिनिधित्व गर्ने जम्मा १८ जना सहभागी थिए। तालिम परिचयात्मक सत्रबाट सुरु भयो, जहाँ एन्साबका वरिष्ठ कार्यक्रम अधिकृत श्री शम्भु चर्मकारले तालिमको पृष्ठभूमि र उद्देश्यबारे जानकारी दिँदै सहभागीबाट अपेक्षा सङ्कलन गरी सहजीकरण गर्नुभयो। जिल्ला वन कार्यालय दोलखाका प्रमुख प्रशिक्षक श्री रविन्द्र महर्जनले जीआईएस र जीपीएस म्यापिङसम्बन्धी पाँच दिने तालिम सञ्चालन गर्नुभयो। तालिम व्याख्यान र व्यक्तिगत अभ्यास विधि प्रयोग गरेर सञ्चालन गरियो। सहभागीलाई वनको जीआईएस नक्सा तयार गर्न र जीपीएस सही तरिकाले चलाउन तालिम दिइयो। उनीहरूलाई विस्तृत वन कार्बन लगत सङ्कलन प्रक्रियामा प्रयोग हुने ब्लक विभाजन, तह निर्धारण (स्ट्र्याटिफिकेसन), नमुना प्लट वितरण र गुगल अर्थ नक्सामा वन पत्ता लगाउनेजस्ता जीआईएस औजारबारे परिचित गराइयो।
तालिमलाई लक्षित उद्देश्यअनुसार सफल बनाउन प्रशिक्षक, सहभागी र दाता संस्थाको प्रयासप्रति धन्यवाद ज्ञापन गर्दै एन्साबका अनुसन्धान अधिकृत डा. नवीन राज जोशीले तालिम समापन गर्नुभयो।