दोलखा र बझाङको १०,५०० हेक्टर वन एफएससी प्रमाणित
रेनफरेस्ट एलायन्स/स्मार्टवुडले एसियाको पहिलो समुदायमा आधारित गैरकाष्ठ वन पैदावार फरेस्ट स्टिवार्डसिप काउन्सिल (एफएससी) प्रमाणीकरण प्रदान गर्न लागेको सन्दर्भमा एन्सावले वन प्रमाणीकरण र गैरकाष्ठ वन पैदावारको दिगो बजारीकरणसम्बन्धी सम्मेलन आयोजना गरेको छ। विश्वमा पाँचवटा मात्र रहेको यो प्रमाणीकरण सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) लाई प्रदान गरिएको छ। फरेस्ट स्टिवार्डसिप काउन्सिलको प्रमाणीकरणसँगै फेकोफनको छातामुनि बझाङ र दोलखाका ११ सामुदायिक वन उपभोक्ता समूहका १०,५०० हेक्टर क्षेत्रफल अब प्रमाणित भएका छन्। एफएससीले विश्वका ६० देशमा ४२ मिलियन हेक्टरभन्दा बढी वन प्रमाणित गरेको छ। प्रमाणीकरण प्रदान एन्सावले समन्वय गरेको गठबन्धनको वन र वन समुदायको विनाशविरुद्ध लड्ने ठूलो प्रयासको अङ्ग हो।
जनवरी ११, २००५ मा भएको सम्मेलनमा सरकारी निकायका नीति निर्माता, दाता र सम्बन्धित राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय संस्थाका १०५ भन्दा बढी सहभागी जमघट भए। एन्सावका कार्यकारी निर्देशक श्री भीष्म पी. सुवेदीको अध्यक्षतामा भएको सम्मेलनमा वन प्रमाणीकरण र गैरकाष्ठ वन पैदावारको दिगो बजारीकरणबारे चारवटा पत्र प्रस्तुत गरिए।