कार्यक्रम: तेस्रो अन्तर्राष्ट्रिय फरेस्ट कनेक्ट कार्यशाला
१५ फेब्रुअरी २०१३
एन्साबले अन्तर्राष्ट्रिय वातावरण तथा विकास संस्थान (आईआईईडी) र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) सँगको साझेदारीमा २०१३ फेब्रुअरी १२–१५ मा नेपालको काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय फरेस्ट कनेक्ट कार्यशाला आयोजना गर्यो। कार्यशालामा १९ देशका ३० जना व्यक्ति र संस्था सहभागी भए। सहभागीलाई स्वागत गर्दै एन्साबका कार्यकारी निर्देशक डा. भीष्म प्र. सुवेदीले सबै प्रतिनिधिलाई कार्यशालामा सहभागी भएकोमा धन्यवाद दिनुभयो र साना खेतबारी–वन उद्यमलाई सहयोगको प्राथमिकीकरणमा उनीहरूको विशेषज्ञताबाट कार्यक्रमले लाभ पाउने शुभकामना व्यक्त गर्नुभयो। आईआईईडी का वन टोली प्रमुख डा. डन्कन म्याक्वीनले फरेस्ट कनेक्ट सञ्जाल र साना खेतबारी–वन उद्यमलाई सहयोग गर्न दुर्लभ स्रोतको प्राथमिकीकरणमा यसका हालका गतिविधिबारे जानकारी दिनुभयो। नेपाल सरकारको नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत श्री राधेश पन्तले नेपालजस्ता देशमा जैविक विविधता संरक्षण र जीविकोपार्जन सुधारमा साना खेतबारी–वन उद्यमको महत्त्वमा केन्द्रित भई मुख्य भाषण दिनुभयो।
कार्यशालाका क्रममा नेपाल, कम्बोडिया, भियतनाम, कङ्गो, तान्जानिया, बुर्किना फासो, ब्राजिल र मेक्सिकोका देश टोलीले वन भू–उपयोगमा परिवर्तनसँग सम्बन्धित विश्वव्यापी जलवायु, जैविक विविधताको क्षति र नाइट्रोजनको अत्यधिक प्रयोगका बढ्दो खतराको प्रतिक्रियामा भविष्योन्मुख प्रतिवेदन प्रस्तुत गरे। खेतबारी–वन उद्यमसँग सम्बन्धित इन्डोनेसिया, म्यानमार, ग्वाटेमाला, युगान्डा, माली, घाना, क्यानडा, अमेरिका, फिनल्यान्ड र बेलायतका आमन्त्रित वन संस्थाले पनि साना खेतबारी–वन उद्यमलाई गरिएका हालका गतिविधि र सहयोगको अवस्थाबारे प्रस्तुति दिए। सहभागीले राष्ट्रियस्तरको रेड–प्लस प्रदर्शन गतिविधि र एफएससी प्रमाणित हातेकागज उत्पादनमा संलग्न दोलखाको चरनावती सामुदायिक वन उपभोक्ता समूह, सामुदायिक तहमा ब्रिकेट उत्पादन गर्ने सिन्धुपाल्चोकको सिक्रे ब्रिकेट उद्यम र हातेकागज तथा सुगन्धित तेल प्रशोधन र व्यापार गर्ने काठमाडौंको हिमालयन बायोट्रेडको क्षेत्र भ्रमण पनि गरे। कार्यशालासँगै फरेस्ट कनेक्ट सदस्यले न्यायोचित र हरित अर्थतन्त्रमा योगदान गर्ने साना खेतबारी–वन उद्यमलाई प्रभावकारी रूपमा सहयोग गर्न नवीकृत रणनीतिक केन्द्रबिन्दुको परिकल्पना गरे।
पहिलो दुई अन्तर्राष्ट्रिय फरेस्ट कनेक्ट कार्यशाला स्कटल्यान्डको एडिनबर्ग र इथियोपियाको अदिस अबाबामा आयोजना गरिएका थिए।
थप जानकारीका लागि कृपया सम्पर्क गर्नुहोस्: सुदर्शन खनाल [email protected]