१३ नोभेम्बर २०१२

ब्रिकेट उद्योगले ग्रामीण महिलालाई बनाउँदै आत्मनिर्भर


१३ नोभेम्बर २०१२

हिमालयन टाइम्सले २०१२ नोभेम्बर १२ मा सिन्धुपाल्चोक र दोलखा जिल्लामा एन्साबले सहयोग गरेका ब्रिकेट उद्योगले गाउँका महिलालाई आत्मनिर्भर बनाएको घटनाबारे लेखेको छ। समाचार निम्नानुसार छ:

हिमालयन न्युज सर्भिस

काठमाडौं: उद्यमशीलताबारे पाठ सिक्न इच्छुक मानिसले सिन्धुपाल्चोक र दोलखाका सातवटा गाउँका महिलाबाट धेरै कुरा सिक्न सक्छन्।

आफ्ना स्थानीय क्षेत्रका जङ्गलमा पाइने धेरैले ‘बेकार’ भन्ने झाडी प्रयोग गरेर उनीहरूले बायो–ब्रिकेट बनाउँछन्, जसले सहरी क्षेत्रमा बिजुलीको हिटर र जीवाश्म इन्धनलाई विस्थापित गरेको छ, जहाँ यी घर र रेस्टुरेन्टमा कोठा तताउन र बेक गर्न प्रयोग गरिन्छन्।

३० जना महिलाको उद्यम रहेको यो उद्योगबाट ग्रामीण महिलाले लाभ पाएका छन्। हिजो एक कार्यक्रममा बोल्दै सिन्धुपाल्चोकको चिप्ले गाउँकी नन्दकुमारी श्रेष्ठले आफू अब मासिक रु. ५,५०० कमाउने बताइन्, जुन यो उद्योगको हिस्सा बन्नुअघि श्रमिकका रूपमा दैनिक रु. १०० कमाउने आम्दानीबाट ठूलो उछाल हो। गर्वित श्रेष्ठले उद्योगले आफूजस्ता महिलालाई स्वतन्त्रता दिएको बताइन्, किनभने उनीहरूले पैसाका लागि पतिको मुख ताक्नुपर्दैन।

उद्योगमा १० महिना काम गर्दै यी महिलाले जङ्गलबाट झाडी सङ्कलन गर्छन् र चिस्यान निकाल्न खाडलमा जलाउँछन्।

एक दिनपछि उनीहरूले धुलो ल्याउँछन् र नजलेका भाग मेसिनले पिस्छन्। त्यसपछि उनीहरूले धुलोलाई माटो र पानीको घोलसँग मिसाउँछन्, साँचोमा हाल्छन् र चार–पाँच दिन सुकाएर राम्रा ब्रिकेटका टुक्रा उत्पादन गर्छन्। प्रत्येक ब्रिकेट सहरमा रु. २५ पर्छ।

दोलखास्थित सिक्रे ब्रिकेट उद्योगका देव बहादुर श्रेष्ठले ब्रिकेट ढुवानीका क्रममा जिल्ला वन कार्यालय र सुरक्षाकर्मीले घुस मागेको गुनासो गरे।

हिमालयन नेचुरल्सले ब्रिकेट प्याकेजिङ गरी सामान्य लागतमा सहरमा पुर्‍याउँछ र बजारीकरण पनि गर्छ।

कम्पनीका अनुसार सातवटा गाउँका ब्रिकेट उद्योगले २०० जनालाई रोजगारी दिएका छन्। गत आर्थिक वर्ष उनीहरूको व्यापार परिमाण रु. ८१ लाख बराबर थियो।