७ अगस्ट २०२४

“दिगो व्यापारमार्फत हिमाली वनस्पति तथा च्याउको संरक्षणको विस्तार” परियोजनाको सुरुवात कार्यशाला एन्साबले आयोजना गर्‍यो

ANSAB organizes project inception workshop for “Scaling conservation of Himalayan plants and fungi through sustainable trade”


२०२४ अगस्ट ७

काठमाडौं, अगस्ट ७ – एन्साब र ट्राफिकले २०२४ अगस्ट ७ मा नेपालको काठमाडौंमा “दिगो व्यापारमार्फत हिमाली वनस्पति तथा च्याउको संरक्षणको विस्तार” परियोजनाको सुरुवात कार्यशाला संयुक्त रूपमा आयोजना गरे।

कार्यशालाको मुख्य उद्देश्य परियोजनाको सिंहावलोकन प्रस्तुत गर्नु र प्रमुख सरोकारवालाको प्रतिक्रिया सङ्कलन गर्नु थियो। कार्यशालामा पश्चिमी हिमालय क्षेत्रका उच्च मूल्य/संरक्षण प्राथमिकता प्राप्त गैरकाष्ठ वन पैदावारको संरक्षण र दिगो उपयोगसम्बन्धी एन्साब र ट्राफिकका विगतका हस्तक्षेप र यो नयाँ पहल अघिल्ला दुई परियोजनाका सफलता र उपलब्धिमा कसरी आधारित छ भन्ने कुरा साझा गरियो। कार्यशालामा नेपालको वन तथा वातावरण मन्त्रालयका सचिव, वनस्पति स्रोत विभाग र वन अनुसन्धान तथा तालिम केन्द्रका महानिर्देशकहरू तथा विभिन्न सरकारी कार्यालय, नागरिक समाज संस्था, द्विपक्षीय र बहुपक्षीय निकाय, निजी क्षेत्र, सङ्घसंस्था र विश्वविद्यालयका प्रतिनिधिसहित करिब ७० जना सहभागी थिए।

दिगो व्यवस्थापन, पहिचानयोग्य र न्यायोचित व्यापारमार्फत हिमाली क्षेत्रका उच्च मूल्यका प्राथमिकताप्राप्त औषधीय वनस्पतिको संरक्षण गर्ने परियोजनाको लक्ष्यले कार्यशालाका सहभागीबाट सकारात्मक प्रतिक्रिया पायो। सहभागीहरूले यो दृष्टिकोणको प्रशंसा गर्दै परियोजना सान्दर्भिक र राम्रोसँग डिजाइन गरिएको भनी टिप्पणी गरे।

बेलायत सरकारको डार्विन इनिसिएटिभद्वारा आर्थिक सहयोग प्राप्त यो परियोजना नेपालमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल; फेयरवाइल्ड फाउन्डेसन; कोपेनहेगन विश्वविद्यालय; त्रिभुवन विश्वविद्यालय; अक्सफोर्ड विश्वविद्यालय; र डब्लूडब्लूएफ–इन्डियासँगको साझेदारीमा एन्साब र ट्राफिक इन्टरनेसनलले कार्यान्वयन गरिरहेका छन्, साथै केही परियोजना गतिविधि क्षेत्रीय तहमा पनि योजना गरिएका छन्।

नेपालको वन तथा वातावरण मन्त्रालय; नेपाल हर्ब्स एण्ड हर्बल प्रोडक्ट्स एसोसिएसन (नेह्पा); चाइना एसोसिएसन अफ ट्रेडिसनल चाइनिज मेडिसिन (सीएटीसीएम); चाइना स्ट्यान्डर्ड कन्फर्मिटी एसेसमेन्ट कम्पनी लिमिटेड (सीएससीए); र टेरा हिमालय प्रा. लि. परियोजनाका सहकार्यकर्ता हुन्।