एन्साबले अमेरिकाको फ्युचर जेनेरेसन्स ग्राजुएट स्कुलका स्नातकोत्तर विद्यार्थीलाई कोर्स सञ्चालन गर्यो
१२ अप्रिल २०१४
एन्साबले फ्युचर जेनेरेसन्स ग्राजुएट स्कुलका स्नातकोत्तर तहका विद्यार्थीलाई नेपालमा सामुदायिक वन र दिगो वन व्यवस्थापनसम्बन्धी सैद्धान्तिक र व्यावहारिक पाठ्यक्रम उपलब्ध गरायो। समुदायमा आधारित सिकाइमा केन्द्रित स्नातकोत्तर तहका विद्यार्थी गत महिना नेपालमा आवासीय रूपमा रहे। नेपालमा बसाइका क्रममा कार्यकारी निर्देशक डा. भीष्म सुवेदीको समग्र मार्गदर्शनमा जैविक विविधता, पारिस्थितिक प्रणाली सेवा तथा जलवायु परिवर्तन (बीईएससीसी) कार्यक्रमका व्यवस्थापक डा. कल्याण गौली र कार्यक्रम अधिकृत श्री शम्भु चर्मकारले नेपालमा सामुदायिक वन निर्माण प्रक्रिया, सहभागितामूलक वन लगत सङ्कलन, हैसियत वर्गीकरण र उप–समूह गठन र दिगो वन व्यवस्थापन अभ्यासबारे तीन दिने (२०१४ अप्रिल ९–११) सैद्धान्तिक र व्यावहारिक पाठ्यक्रम सञ्चालन गर्नुभयो। पाठ्यक्रम एन्साबको सहभागितामूलक जैविक विविधता अनुगमन टुलकिट र सहभागितामूलक गैरकाष्ठ वन पैदावार (एनटीएफपी) लगत सङ्कलनजस्ता ग्रामीण विकास टुलकिट शृङ्खला र नेपाल सरकारको सामुदायिक वन निर्देशिकामा आधारित भई डिजाइन गरिएको थियो। सैद्धान्तिक कक्षा सञ्चालन गर्दा व्याख्यान विधि प्रयोग गरियो। त्यसै गरी, नवलपरासी जिल्लामा रहेको एन्साबको परियोजना स्थलमध्ये एकमा सहभागितामूलक स्रोत नक्साङ्कन, सहभागितामूलक वन योजना, वन सीमा सर्वेक्षण, जीआईएस म्यापिङ, वन लगत सङ्कलन, हैसियत वर्गीकरण र उप–समूह गठनसम्बन्धी फिल्ड अभ्यास गरियो।
स्थापनाकालदेखि फ्युचर जेनेरेसन ग्राजुएट स्कुलले आफ्ना स्नातकोत्तर विद्यार्थीलाई समुदायमा आधारित वन तथा प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान उपलब्ध गराउन एन्साबसँग सहकार्य गर्दै आएको छ। सन् २०११ मा डा. भीष्म सुवेदीले ग्राजुएट स्कुलमा सहायक प्राध्यापकको रूपमा काम गर्नुभयो र मानव पारिस्थितिकी कोर्ष सह–अध्यापन गर्नुभयो, जबकि एन्साबको टोलीले एन्साबका कार्यक्षेत्रमा विद्यार्थीलाई फिल्ड अभ्यासमा सहयोग गर्यो।