२२ अप्रिल २०२२

एन्साबले मनायो विश्व पृथ्वी दिवस २०२२

ANSAB celebrates World Earth Day 2022


२२ अप्रिल २०२२

एन्साबले विश्व पृथ्वी दिवस–२०२२ को सम्झनामा नवलपुर जिल्लामा शृङ्खलाबद्ध कार्यक्रम आयोजना गर्‍यो। पृथ्वी दिवस मनाउन एन्साबले सहिद स्मृति सामुदायिक माध्यमिक विद्यालयसँगको साझेदारी र डिभिजनल वन कार्यालय, नवलपुरसँगको निकट समन्वयमा सडक र्‍याली, विद्यार्थीलाई वातावरणमैत्री गतिविधिबारे अभिमुखीकरण र फोहोरमैला व्यवस्थापनको प्रदर्शनसहितका चेतना अभिवृद्धि गतिविधि सञ्चालन गर्‍यो।

कावासोती नगरपालिकामा र्‍याली आयोजना गरियो, जसमा विद्यालयका विद्यार्थी, शिक्षक, नेपाल प्रहरी, डिभिजनल वन कार्यालय तथा स्थानीय सरकारी निकायका प्रतिनिधि र वातावरण, वन तथा कृषि क्षेत्रमा काम गर्ने व्यक्ति सहभागी भए। कावासोती नगरपालिकाका सडक, राजमार्ग र केही प्रमुख क्षेत्रमा र्‍याली गर्दै हाम्रो प्रकृतिको जगेर्ना र संरक्षण गर्ने सन्देशसहित नारा लेखिएका ब्यानर, प्ले–कार्ड र अनुहारमा चित्रकला प्रदर्शन गरियो। र्‍यालीको अन्त्यमा सहभागीहरू नवलपुरस्थित डिभिजनल वन कार्यालयको परिसरमा जम्मा भए, जहाँ डिभिजनल वन कार्यालय र एन्साबका कर्मचारीले पृथ्वी दिवसको इतिहास तथा बढ्दो विश्व तापमान वृद्धि, जलवायु परिवर्तन, जैविक विविधताको क्षति र वातावरणीय सङ्कटको समस्या सामना गर्न मानवीय व्यवहारको महत्त्वबारे सहभागीहरूलाई जानकारी गराए।

सहिद स्मृति सामुदायिक माध्यमिक विद्यालयमा आयोजित अर्को कार्यक्रममा विद्यार्थीले विद्यालय परिसरभित्र कुहिने, नकुहिने र हानिकारक फोहोर छुट्याएर फोहोर वर्गीकरण प्रदर्शन गरे। यसका लागि एन्साबले विद्यालयलाई प्रत्येक प्रकारको फोहोरका लागि ३ वटा फरक फोहोर राख्ने डस्टबिन उपलब्ध गरायो। एन्साबले रुखका वैज्ञानिक नामसहितका नामपाटी तयार गर्न र विद्यालय परिसरभित्रका विभिन्न प्रजातिका ८४ वटा रुखमा जडान गर्न पनि सहयोग गर्‍यो, जसले विद्यार्थीलाई रुख पहिचान गर्न सघाउनेछ। विद्यार्थीलाई विद्यालयभित्र र बाहिर स्वस्थ वातावरणीय अभ्यासको प्रवर्द्धन गर्न थप प्रोत्साहित गरियो।

प्रत्येक वर्ष अप्रिल २२ मा पृथ्वी दिवस मनाइन्छ। यस वर्षको पृथ्वी दिवसको विषयवस्तु ‘हाम्रो ग्रहमा लगानी गरौं’ थियो। यो विषयवस्तुले विश्वभरका सबै व्यक्ति र व्यवसायलाई हरित प्रविधि र अभ्यासमा लगानी गर्न र त्यसतर्फ रूपान्तरण हुन आह्वान गर्‍यो।

यो गतिविधि नवलपुर जिल्लामा सञ्चालित ‘ग्रामीण समुदायमा प्रकृति संरक्षण तथा कृषि वनजङ्गल उत्पादन’ परियोजनाको एक हिस्सा हो, जुन एन्साब र प्रकृति तथा वातावरणका लागि म्यान्फ्रेड–हर्मसेन–स्टिफ्टुङ ले अन्तर्राष्ट्रिय जलवायु पहल (आईकेआई) को उदार सहयोगमा जर्मनीको वातावरण, प्रकृति संरक्षण तथा आणविक सुरक्षा सङ्घीय मन्त्रालय (बीएमयू) को तर्फबाट कार्यान्वयन गरिरहेका छन्।.